खाडी भासिन लागेका महिलाहरूलाई फर्काइयो

बाँके । खाडी मुलुक जान लागेका महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको छ । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको हो । उनीहरूलाई भारतीय बाटो हुँदै अवैध रूपमा खाडी मुलक लैजान लागेको गोप्य सूचनाका आधारमा उद्धार गर्न सफल भएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले बताउनुभयो ।
संयोजक कोइरालाका अनुसार खाडी मुलुक जान लागेका ती महिलालाई नयाँ दिल्लीको मैदानगढी क्षेत्रका होटलमा छापा मारेर उद्धार गरिएको थियो । मध्यपश्चिम क्षेत्रमा घर भएका महिलालाई नेपालगञ्जमा राखिएको छ भने अन्य जिल्लामा घर भएकालाई नजिकको माइती नेपालका सेल्टरमा राखिएको छ । ती महिलाले आफूहरू स्वेच्छिकरूपमा भारत हुँदै खाडी मुलुक जान लागेको माइती नेपालसमक्ष बयान दिएका छन् । नेपालको बाटो भएर खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएपछि आफूहरू भारत भएर त्यसतर्फ जान लागेको प्रतिक्रिया उनीहरूले दिएका हुन् ।