के उपत्यका सडक बालबालिका मुक्त क्षेत्र होला ?

काठमाडौं । उपत्यकालाइ सडक बालबालिका मुक्त क्षेत्र बनाइने भएको छ । संघीय संसद् अन्तर्गतका समितिले आफ्ना क्षेत्रअन्तर्गत मन्त्रालय र निकायका कार्ययोजना बारेमा जानकारी लिन शुरु गरेका छन् । यस अन्तर्गत महिला तथा सामाजिक समितिले विहिबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चालू आवका कार्यक्रमका बारेमा जानकारी लिएको छ । सो समितिको विहीबारको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक समानता नीति २०७५ को मस्यौदा तयार भइरहेको र बालबालिका सम्बन्धी ऐन २०४८ लाई प्रतिस्थापना गर्ने नयाँ ऐनको मस्यौदा तयार भएको जानकारी दिनुभयो ।
वीरगञ्ज, रुपन्देही र चितवनमा आगामी भदौ १ गतेदेखि बालसुधार गृह स्थापना गर्न स्वीकृति दिएको, काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाउने अभियान जारी रहेको र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न बालसंरक्षणका कार्यक्रम सञ्चालन भइरहेको उहाँले वताउनुभयो ।