‘कालीगण्डकी करिडोरको काम किन सुस्तायो’

बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताउनुभएको छ ।
जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बिहीबार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदशभित्र रहेका कालीगण्डकी करिडोर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्गलगायत योजना समयमै सम्पन्न गराउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो । “कालीगण्डकी करिडोर र कोरला नाका गण्डकी प्रदेशको भाग्यरेखा हो, यसलाई कालीगण्डकी नदीको किनारैकिनार गैंडाकोट हुँदै त्रिवेणी नाका र पोखरासँग जोड्ने गरी गृहकार्य भइरहेको छ,” गुरुङले भन्नुभयो ।
मुख्यमन्त्री गुरुङले हालै कालीगण्डकी करिडोरको स्थलगत अनुगमन गर्नुभएको थियो । सो कार्यमा ११ निर्माण व्यवसायी कम्पनी परिचालन भएकामा चार कम्पनीले पाँच प्रतिशत पनि काम नगरेको पाइएको उहाँले बताउनुभयो । “बहाना बनाएर काममा ढिलासुस्ती गर्नेलाई कारवाही गर्छौँ,” उहाँले भन्नुभयो । संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाको अनुगमनमा चासो दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले सहजीकरण र ताकेता गर्ने नीति लिएको बताउनुभयो ।