अब प्रहरीलाई पनि कारबाही हुने

काठमाडौं । अब प्रहरीलाई पनि कारवाही हुने ऐन आउने भएको छ । प्रहरीले अब जथाभावी कसैलाई पनि पक्राउ गरी थुन्न पाउने छैन ।

मुलुकी अपराध संहिता ऐन परिच्छेद – १५ को गैरकानूनी थुना सम्बन्धी दफामा बदनियतपूवर्क थुनछेक गर्न नहुने उल्लेख गरिएको छ । अपराधमा सामेल भएको पक्का भए पनि प्रहरीले कसुरदारलाई पक्राउ गरिहाल्न नमिल्ने दफामा उल्लेख गरिएको पाइएको छ । पक्राउ गर्नु पहिले प्रहरीले कसुरदारलाई पक्राउ गर्नुको कारण खुलाई पक्राउ पुर्जी दिनुपर्ने हुन्छ । अन्यथा पक्राउ गर्नेमाथि नै कारबाही हुने ऐनमा उल्लेख छ ।

भदौ १ गतेदेखि लागू हुन लागेको यो ऐनमा कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा राख्न लगाउन नहुने उल्लेख गरिएको छ ।

यसअघि प्रहरीले शंका लागेकै भरमा कसैलाई पनि पक्राउ गरेर थुन्न सक्थ्यो । पक्राउ गरेको २४ घण्टाभित्र अदालतमा पुर्याएर म्याद थप गरे हुने थियो । तर अहिलेको नयाँ मुलुकी ऐनले भने पक्राउ गर्नुपूर्व नै कसुरदारलाई कुन अभियोगमा पक्राउ गर्न लागिएको हो त्योबारेमा पक्राउ पुर्जी दिनुपर्ने अनिवार्य गरेको हो । यदि बदनियतपूर्वक थुनामा राखिएको पाईए त्यस्तो कार्यमा संलग्न जो कसैलाई पनि तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने ऐनले व्यवस्था गरेको छ ।

पक्राउ गर्नुपर्ने कारण र व्यक्तिको विवरण सहित अदालतबाट पक्राउ पुर्जी लिएर मात्रै अभियोगीलाई पक्राउ गर्नुपर्ने व्यवस्था ऐनमा छ । यसले प्रहरीलाई जिम्मेवार बनाउनुका साथै यसअघि लाग्दै आएको जथाभावी पक्राउको आरोप पनि घट्ने विश्वास गरिएको छ । आपतकालिन अवस्था अर्थात अपराधि भाग्नसक्ने खतरा छ भने मात्रै प्रहरीले आफै पक्राउ पुर्जी जारी गरेर २४ घण्टाभित्र पक्राउ गरेको समर्थन लिन अदालतमा हाजिर गराउनै पर्ने व्यवस्था पनि ऐनमा छ ।

यसैगरी कुनै पनि व्यक्तिलाई गोप्य तरिकाले थुनामा राख्न नहुने व्यवस्था पनि ऐनमा उल्लेख छ । पहिले प्रहरीले विभिन्न घटनामा व्यक्तिलाई गोप्य तरिकाले थुन्ने र घटना मिलाउने गरेको आरोप प्रहरीलाई लाग्दै आएको थियो । अब ऐनले नै थुनामा भएको व्यक्तिको थुनिएको कुरा वा थुनिएको ठाउँको जानकारी अनिवार्य दिनुपर्ने व्यवस्था गरेपछि यस्तो कार्य नियन्त्रणमा आउने देखिएको छ ।