मुक्तहलियाले पाउँदै आएको रकममा समेत अनियमितता

बैतडी । देशमा जुनसुकै क्षेत्रमा किन नहोस व्यापक अनियमितता बढ्दै गएको छ । बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन परेको छ ।
नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा रु आठ हजारका दरले रकम मागेको मुक्तहलियाले बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा निवेदन दिँदै उनीहरुले आफूहरुको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् ।
जिल्ला मालपोत कार्यालयमार्फत आफूले पाएको रकममा कोलीले ८ हजारका दरले मागेको मुक्तहलिया वीरभान महरले बताउनुभयो । साउन १७ गते ग्वाल्लेकका दुखी रानासँग १६ हजारमध्ये ९ हजार ५ सय घुस मागेपछि घटना बाहिर आएको हो । मुक्तहलियाले दिएको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रैले यो विषयमा छानबिन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुक्तहलियाबाट पैसा मागेको पाइएमा कानूनअनुसार कारवाही गरिने छ ।”
मुक्तहलियाको रकममा जिल्लाभरि दुरुपयोग हुनसक्ने हलिया मुक्ति समाजका पूर्वकेन्द्रीय अध्यक्ष राजुराम भुलले बताउनुभयो । तर जिल्ला हलियामुक्ति समाजका सदस्य वीरभान कोलीले भने आफूले पैसा नलिएको दाबी गर्नुभयो । आफूलाई फसाउन राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाएको उहाँको दाबी छ ।