शैक्षिक सुधार अभियान

पर्वत । शैक्षिक सुधारका तथा गुणस्तर शिक्षाका लागि पर्वतको कुस्मा र फलेवास नगरपालिकामा काठमाडौ विश्व विद्यालयसँग सहकार्य गरीने भएको छ । कुस्मा र फलेवास नगरपालिकाले नगरभित्र शैक्षिक कार्ययोजना निर्माण तथा गुणस्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्ने निष्कर्ष निकालेका हुन् ।
कुस्मा नगरपालिका र फलेवास नगर कार्यपालिकाको आयोजना र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा गरिएका छुट्टाछुट्टै कार्यक्रममा दुवै नगरपालिकाभित्रको शैक्षिक क्षेत्रको अवस्था, आवश्यकता तथा विद्यालयको गुणस्तर वृद्धिका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्यको आवश्यकता औँल्याएका छन् । दुवै नगरपालिकाले छिट्टै समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिकाले बजेटको ठूलो हिस्सा शिक्षाका क्षेत्रमा विनियोजन गर्दै आएको र गुणस्तर अभिवृिद्धका लागि हरेक क्षेत्रमा सहकार्य गर्ने गरी काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्ने तयारी भएको बताउनुभयो । कुस्मा नगरपालिकाका सामाजिक समितिका संयोजक तथा वडा नं ११ का अध्यक्ष शिवप्रसाद पौडेलले पनि नगरको शैक्षिक अवस्था सुधारका लागि केयुसँग सहकार्य गर्ने तयारी भएको बताउनुभयो ।
काठमाडौ विश्वविद्यालयका प्रा डा लक्ष्मण ज्ञावलीले एउटा विद्यालय सुधारका लागि सबैभन्दा बढी भूमिका प्रधानाध्यापकको हुने भएकाले प्रअको भूमिका प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले शैक्षिक नीति निर्माण तथा कार्यान्वयनमा पनि विद्यार्थी तथा समुदायको सहभागिताबाट मात्रै लक्ष्य प्राप्त गर्न सहज हुने बताउनुभयो ।