आज साउनको अन्तिम सोमबार, मुलुक भरका शिवालयमा भीड

काठमाडौं । साउन महिना त्यसै पनि हरियाली छाएको हुन्छ । आज साउन महिनाको अन्तिम सोमबार भएकोले गर्दा पनि पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बाक्लो भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिला तथा पुरुषहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो लागेको छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि पशुपतिनाथ परिसरमा ठूलो घुइँचो लागेको थियो ।

काठमाडौंको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, खोटाङ्गको हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, जनकपुरको कपिलेश्वर, पर्वतको गुप्तेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनहरुको
निकै बाक्लो भिड लागेको छ ।