गलेश्वरधाममा भक्तजनको भिड

बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिने स्थान हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार साउन महिनाको चार सोमबारका दिन भक्तजनको विशेष उत्साहजनक सहभागिता देख्न पाइन्छ । साउनको अन्तिम सोमबार ३० हजारभन्दा बढी भक्तजनले गलेश्वरमा पूजा गरेको कोषका सदस्य सचिवले जानकारी दिनुभयो ।
उहाँका अनुसार “बर्सेनि भक्तजनको सङ्ख्या बढ्दै गएको छ,” शालीग्राम पाइने कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफल रहेको गलेश्वरधाममा पूजापाठ गर्न म्याग्दीसँगै बागलुङ, पर्वत, कास्कीलगायत जिल्लाबाट भक्तजनहरूको भिड लाग्ने गर्छ । साउनको तेस्रो सोमबारसम्म ९ लाख भेटी सङ्कलन भइसकेको पनि उहाँले जानकारी दिनुभयो । भएको छ । शिवालयको दर्शन तथा पूजापाठ गरेर १०८ शिवलिङ्गमा कालीगण्डकीको जल अर्पण गरेमा सुख, शान्ति, ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रही आएको छ ।
कालीगण्डकी किनारमा चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रही आएकोछ । धार्मिक गन्थ्रमा गलेश्वरमा सतीदेवीको गला पतन भएको पाइन्छ । विशेषगरी बिवाहित महिला पारिवारिक सुख तथा अबिबाहित महिला राम्रो बर पाइयोस भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी ब्रत बस्ने चलन छ ।