नेकपा सचिवालय बैठक सुरु

मंसिर ३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकका लागि १५ मिनेट अगाडि नै बालुवाटार पुग्नुभएकाे थियाे भने अन्य नेताहरु पनि तोकिएको समय १ बजे नै पुगेका छन् । शुक्रबारको बैठकमा पेश गरेकाे अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दिने तयारी छ । तर, त्यसका लागि केही दिनको समय ओलीले माग्ने तयारी रहेको स्रोतले जनाएको छ ।

यसअघि ओलीले प्रचण्डले राखेको प्रतिवेदनको जवाफ नदिने नेताहरुसँग बताउनु भएकाे थियाे । तर, विभिन्न छलफल र भेटवार्तापछि ओली छलफलमा बस्न तयार भएको जनाइएको छ ।

आजै दुई बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । त्यसैले सचिवालय बैठक छोटो समय मात्रै बस्ने तयारी छ । सचिवालय बैठक बस्नुअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आजै शीतल निवास पुग्नुभएकाे थियाे ।

सचिवालय बैठक बस्ने समयमै मन्त्रिपरिषद् बैठक बस्ने जानकारी मन्त्रीहरुलाई हिजो साँझ दिइएको थियो । तर, बुधबार विहान प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सार्नुभएकाे थियाे ।