प्रचण्डको काउन्टरमा ओलीले प्रस्ताव ल्याउने, केन्द्रीय समिति बैठक सर्‍यो

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको ‘काउन्टर’ मा छुट्टै प्रस्ताव ल्याउनुहुने भएकाे छ । आज बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताउनु भएकाे थियाे।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने तय भएको जानकारी गराउनु भएकाे छ ।

सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उहाँको भनाइ छ । यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याउनुभएकाे थियाे भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो ।

प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताउनु भयाे । यस्तै बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र  १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सारिएको श्रेष्ठले जानकारी दिनुभएकाे छ ।