ग्याँस सिलिण्डर पड्किएर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमाको उपचारका क्रममा निधन

काठमाडौं – ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा भण्डारीकी आमा हरिकलाको निधन भएको हो । कांग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ।

थप उपचारका लागि उनीहरूलाई भारत लैजान अस्पतालले सिफारिस गरिसकेको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए। भण्डारीको शरीको ३० प्रतिशत भाग जलेको छ ।

प्रतिनिधि सभाका सदस्यसमेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमालाई सिभिल अस्पतालहुँदै कीर्तिपुर अस्पताल लगेर आइसीयूमा उपचार थालिएको थियो।