प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगे

काठमाडौं, ५ फागुन । सत्तारुढ दलभित्र राष्ट्रपतिको विषय पेचिलो बन्दै गएको छ । जसकारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटलाई बाक्लो बनाइरहेको छ । भावी राष्ट्रपतिबारे मतभेद बढिरहेको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् ।

सरकार गठनताका भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने एमालेको अडान छ भने प्रधानमन्त्री राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।
साथै प्रधानमन्त्री प्रचण्डकै सहमतिमा कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चाले सत्तारुढ घटक माओवादी केन्द्र र एमालेबीच चिसोपना बढाइरहेको छ । यही चिसोपना मेटाउन केही हप्तायता प्रचण्ड र ओली दैनिकजसो भेट वार्ता गर्ने गरेका छन् ।