आज शिवरात्री भगवान शिवको पुजा गरि मनाईदैँ

काठमाडौ., ६ फागुन । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ ।कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरीन्छ । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।

आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लागेकोछ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ ।