पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ

काठमाडौँ- महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

साधुसन्तको दक्षिणाका लागि रु आठ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ । यसपाली पशुपतिनाथमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ ।

यसैगरी महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा सङ्कलन भएको भेटिको गणना कार्य पनि आइतबारबाट सुरु भएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार गणना सक्न अझै पाँच–छ दिन लाग्नेछ । यही फागुन ६ गतेको महाशिवरात्रिमा कम्तीमा १५ लाख भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जनाकारी दिनुभयो ।