आरआरआरका हिरो रामचरण खाली खुट्टा विमानस्थलमा भेटीएपछि…

काठमाडौँ । यतिबेला सामाजिक संजालमा दक्षिण भारतीय अभिनेता रामचरण खाली खुट्टा विमानस्थल पुगेका तस्विरहरु भाइरल बनिरहेका छन् । आरआरआर जस्तो विश्वप्रख्यात फिल्ममा काम गरेका प्रख्यात अभिनेता यसरी किन खाली खुट्टा एयरपोर्ट पुगे भनेर धेरैले चासो राखेका छन् ।

त्यो पनि अस्करमा सहभागी हुन हिँडेका खाली खुट्टै पुगे एयरपोर्ट पुग्दा चकित पर्नु स्वभाविक पनि हो । खासमा उनी ९५ औं अस्कर अवार्डमा सहभागी हुन हैदराबाद एयरपोर्टमा पुगेका हुन्। उनी अभिनीत फिल्म ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ यसवर्ष अस्करमा उत्कृष्ट मौलिक गीतको विधामा मनोनयनमा परेकोले सहभागिता जनाउन त्यसतर्फ जाँदा उनी जुत्ता चप्पलविहिन अवस्थामा थिए ।

स्वामी अयप्पाका भक्त रामचरण अयप्पाकै मार्गदिशालाई पालना गर्दै उनले व्रत समेत राखेका छन्। यो व्रत लिनेहरूले ४१ दिनसम्म कालो लुगा लगाउने, खाली खुट्टा हिँड्ने, शाकाहारी भोजन गर्ने र ब्रह्मचार्य पालना गर्ने भएकाले उनी जुत्ता चप्पलविना यसरी यात्रा गर्न बाध्य बनेका हुन् ।

राम चरण हरेक वर्ष केरलाको सबरीमाला मन्दिरको भ्रमण गर्नुभन्दा अघि ४१ दिनसम्म यस्तै पहिरनमा देखिन्छन्। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ ले विश्वभर चर्चा कमाइ रहेको छ। यसअघि फिल्मको ‘नाटु नाटु’ गीतले अमेरिकाको गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको थियो । ‘आरआरआर’ मा अभिनेताद्वय रामचरण र एनटिआरका अलावा आलिया भट्ट र अजय देवगनको पनि अभिनय रहेको छ ।