लमजुङको उत्कृष्ट पर्यटकीय गाउँ काउलेपानीमा लालीगुराँस प्याकेज

लमजुङ १० फागुन । लमजुङको उत्कृष्ट पर्यटकीय गाउँ काउलेपानीमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानीको १२ महिने प्याकेजअन्तर्गत फागुन सुरु भएसँगै लालीगुराँस प्याकेज सुरु भएको हो ।

काउलेपानी होमस्टे व्यवस्थापन समितिले फागुन महिनालाई लालीगुराँस प्याकेज बनाएर प्रचारप्रसार गर्दा दैनिक होमस्टे भरिभराउ हुँदै आएको समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । वनमा लालीगुराँस लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँसमा भएकाले सोही प्याकेजलाई प्रचारप्रसार गरी होमस्टे प्रवर्द्धन गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

अध्यक्ष गुरुङका अनुसार चैत महिनामा काफलको मौसम सुरु हुने भएकोले गाउँमा आएका पर्यटकलाई काफल खुवाउने प्याकेज पनि छ । समितिका अनुसार वैशाखमा ऐंसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाइँ प्याकेज र साउनमा कोदो रोपाइँ प्याकेज छन् ।

यसैगरी भदौ महिनामा जात्रा प्याकेज, असोजमा चाडपर्व प्याकेज, कात्तिक महिनामा कटुस प्याकेज, मसिरमा दाई प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

काउलेपानीमा बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक नै बढी आउने गर्दछन् ।