चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता

पर्वत-पर्वतमा आज एउटा गाउँमा चितुवा भेटियो । त्यसको केहीक्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वतवासीको साहस र बहादुरीलाई कथा बनाएर तस्बिर एकपछि अर्को गर्दै फेसबुकमा राख्ने सिलसिला रोकिएको छैन ।

‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त ?’ सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ । बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।

“हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौँ । बेहोस अवस्थामा रहेको चितुवा एकैछिन पछि जुरुक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनि खस्यो”, कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भन्नुभयो, “त्यसको १० मिनेटपछि चितुवा म¥यो । त्यहाँ वरिपरि रहेका युवामा मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो । चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन ।”

डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइपु¥याएको छ । कार्यालयले चितुवा बूढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने बताएको छ । “चितुवा २० केजी जतिको छ”, निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भन्नुभयो, “बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र वन जङ्गलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ ।”

एक वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहामा पठाइएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकको उपचार र स्याहार सम्भारपश्चात् चितुवा तन्दुरुस्त भएकाले निकुञ्ज छेउको जङ्गलमा छोडिएको थियो ।