सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन ज्ञानेन्द्र शाहीको प्रस्ताव

काठमाडौं, १२ चैत ।  राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पहलाय हुने स्थिति बढेको भन्दै उनीहरुको पारिश्रमिक बढाउन प्रस्ताव गरेका हुन् ।

मन्त्रीका स्वकीय सचिवको भन्दा पनि कम खेलाडीको पारिश्रमिक रहेको भन्दै उनले तत्काल खेलाडीको पारिश्रमिक बढाउन माग गरेका हुन् । यसका लागि मन्त्री र सांसदका स्वकीय सचिवको पारिश्रमिक कटौती गर्न उनले प्रस्ताव गरे ।

‘राष्ट्रलाई चिनाउने खेलाडी हुन् । तर, उनीहरु पहलायन भएका छन् । राष्ट्रिय फुटबल टोलीका कप्तान भइसकेका सुजल श्रेष्ठ अष्ट्रेलिया पहलायन भए । भक्तपुरका बागेश्वरी विद्यालयका १२ कक्षामा पढ्ने विद्यार्थी छुट्टिने बेलामा खाडीमुलकमा भेटौँला लेखे,’ उनले भने, ‘राष्ट्रलाई चिनाउने खेलाडीको पारिश्रमिक मन्त्रीका स्वकीय सचिवको भन्दा कम छ । बरु हामी सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर भए पनि खेलाडीको तलब बढाउनुपर्छ ।’