राप्रपाले ७५३ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई खटाउँदै

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताको जिम्मेवारीलाई छ महिनाको समयसीमा निर्धारण गरेको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिनुभयो । गत जेठमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयलाई पारित गरेको बैठकले भूगोलमा जाने नेताहरुले वडा तहबाटै सङ्गठन गठन, पुनःगठनलगायत तोकिएका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी प्रदान गरेको छ ।
आइतबारदेखि सुरु भएको बैठकमा छलफल नसकिएकाले आजसम्म सञ्चालन भएको बैठकमा ‘राप्रपा : अब नवीन राप्रपा’ सम्बन्धी कार्ययोजनालाई थप व्याख्या तथा विस्तृत कार्यक्रमको रुपमा लागू गर्नका लागि आवश्यक छलफल गरिएको थियो । पार्टी गतिशील बनाउन सो कार्ययोजना ल्याइएको बैठकमा बजेट अधिवेशन, पार्टीको सङ्गठन सुदृढीकरण, कृयाशील सदस्य वितरण, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा पनि थप छलफल गरिएको थियो ।