कांग्रेस बदल्न कर्म र व्यवहार बदल्न जरुरी छ : उपसभापति गुरुङ

काठमाडौँ-नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस बदल्न पार्टीका नेताहरूको कर्म र व्यवहार बदल्नुपर्ने बताउनुभएको छ ।यही साउन २ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा   उहाँले भन्नुभयो, “कर्म र व्यवहार कहिल्यै नबदल्ने अनि कांग्रेस बदलिनुपर्छ भनेर मात्र हुँदैन ।” उहाँले समाज बदल्न आफू उदाहरणीय बने जस्तै पार्टीको सुधारका लागि नेताहरू व्यावहारिकरूपमा सुध्रिनपर्ने बताउनुभयो ।

उपसभापति गुरुङले पार्टीको विभाग, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको सङ्ख्याले मात्र नभएर मुद्दाले पार्टी ठूलो बन्ने बताउनुभयो । उहाँले पार्टीका मुद्दा बलियो बनाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । “विसं २०१५ मा यी संस्था कम हुँदा पनि दुई तिहाइ मत प्राप्त गरेको हो कि हैन ? पार्टीको नारा र एजेण्डाका कारण त्यो मत प्राप्त गरेको थियो”, उहाँले भन्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले मन्त्रालयको कार्यसम्पादनको विषयमा बैठकमा जानकारी दिँदै भन्नुभयो, “अनुचित लेनदेन सन्र्दभको विधेयक अघि बढिरहेको छ । आगामी राष्ट्रियसभाको बैठकबाट यो विधेयक प्रमाणीकरणमा जाँदैछ ।”

कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा लेखेबमोजिम उच्च तहका सबै नेताको सम्पत्तिको छानबिन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । “पार्टीले सरकारलाई भन्न सक्नुपर्छ, उच्च तहका सबै नेताको सम्पत्ति छानबिन गरोस् । आज जनताले यो बैठकबाट सम्पत्ति छानबिनसँगै ठूला ठूला भ्रष्टाचारको निष्पक्ष छानबिन होस् भन्ने प्रस्ताव सुन्न चाहन्छन ।”

बैठकमा उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पत्ति शुुद्धीकरण विधेयक पनि अघि बढेको जानकारी दिनुभयो । उहाँले सङ्घीय शिक्षा ऐन र सङ्घीय निजामती ऐनमा गम्भीर छलफल भइरहेको बताउनुभयो । उपसभापति गुरुङले न्यायाधीश नियुक्तिमा ढिलाइ भएको स्वीकार गर्दै कार्यक्षमतालाई हेरेर मात्र न्यायाधीश नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टीको बैठक जस्तै स्थानीय तहदेखि सङ्घीय निर्वाचनमा पार्टीले टिकट वितरणलाई निष्पक्ष र पारदर्शी बनाउन सुझाव आएको बताउनुभयो ।