नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उहाँले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले हराउन नसक्ने बताउनुभयो ।

मुलुकको विकासको संवाहकसमेत कांग्रेस भएको जिकिर गर्दै नेता कोइरालाले मुलुकमा विकास र आर्थिक समृद्धी कांग्रेसले मात्र दिनसक्ने स्पष्ट पार्नुभयो । विगत ६ दिनदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी र देशको बारेमा गम्भीर समीक्षा गरेकाले कांग्रेसको पक्षमा माहोल सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो ।

चियापान कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीत्रय भीष्मराज आङ्देम्बे, बद्रीप्रसाद पाण्डे र जीवन परियार, कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महत, नेता डा शेखर कोइरालालगायतकोे उपस्थिति थियो ।चियापान कार्यक्रममा कांग्रेसका पूर्व पदाधिकारी, मन्त्री, वर्तमान पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।