रत्नमन्दिर हेर्न कहिले पाइन्छ ?

पोखरा- पोखराको फेवाताल किनारस्थित रत्नमन्दिरको भित्री संरचना हेर्न नपाएपछि त्यहाँ पुग्ने पर्यटकले गुनासो गर्न थालेका छन् । जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर सशुल्क सर्वसाधरणका लागि खुला गरिएको रत्नमन्दिर दरबारको भित्र जान नपाएपछि पर्यटकले गुनासो गर्न थालेका हुन् ।

पैँसठ्ठी वर्षीय आमालाई रत्नमन्दिर परिसर घुमाएर रत्नमन्दिर गेट बाहिर आउँदै गर्नुभएकी पोखरा–१४ की सोनी शर्मा त्यति खुसी देखिनुभएन । “हामीले त दरबारभित्र के छ, कसरी राजपरिवार बस्थे, उनीहरुले प्रयोग गरेका सामग्री केकस्तो होलान् भन्ने कौतुहलता लिएर आएका थियौँ तर भित्र हेर्न नपाएपछि कौतुहलता रहिरह्यो, त्यति खुसी लागेन ।” उहाँले आफूलेभन्दा बढी आमाले दरबारभित्र हेर्न रहर गरेकाले घुमाउन लिएर आएको तर सोचे जस्तो नपाएको बताउनुभयो ।

पर्वतबाट पोखरा घुम्न आउनुभएकी सविता विश्वकर्मालाई पनि रत्नमन्दिरको भित्र हेर्न नपाउँदा बेकार टिकट काटीए छ जस्तो लागेको छ । उहाँले भन्नुयो, “फेवाताल किनारमा राजाको दरबार छ भन्ने सुनेर छोरी लिएर आएको थिए, अरु ठाउँहरु त घुमेका थियौँ दरबार हेर्न पाइन्छ रे भनेर आएको बाहिरमात्रै रहेछ, भित्र हेर्न पाइएन ।” उहाँले भित्र गएर सबै हेर्न पाएको भए बल्ल दरबार घुमेजस्तो हुने थियो भन्ने प्रतिक्रिया दिनुभयो ।

लेकसाइडस्थित क्रिष्टल प्यालेसका सञ्चालक पर्यटन व्यवसायी मुना पौडेलले पनि आफ्नो होटलमा आएका पर्यटकले रत्नमन्दिर भित्र हेर्न नपाएको गुनासो गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले होटलमा आउने पर्यटकलाई रत्नमन्दिर घुम्नका लागि सुझाव दिन्छौँ तर पर्यटक त्यहाँ पुगेर आएपछि त्यति सन्तुष्ट देखिँदैन ।” विशेषगरी रत्नमन्दिर दरबारभित्रको संरचना र सामग्री अवलोकन गर्न नपाएको गुनासो पर्यटकले गर्ने गरेको उहाँले बताउनुभयो । पौडेलका अनुसार टिकट काट्यो, भित्र गयो, रत्नमन्दिर र हावाघरको बाहिरबाट अवलोकन गरेर फर्किंदा रत्नमन्दिर भित्र के छ भन्ने कुरा नै पर्यटकले हेर्न नपाउँदा खिन्न हुने गरेका छन् । बाहिर केर्न मात्र टिकट काटेर किन जाने भन्ने प्रश्न पर्यटकबाट आउन थालेको उहाँको भनाइ छ ।

“हामीले निकै लामो समयदेखि रत्नमन्दिर खोल्नुपर्छ भनेर विभिन्न फोरममा आवाज उठायौँ, रत्नमन्दिर खुलासँगै पोखरामा पर्यटकीय नयाँ गन्तव्य थपिनेछ र यसले पर्यटकलाई लोभ्याउने छ, तर मुख्य कुरा नै हेर्नबाट बञ्चित भएपछि यो आकर्षक गन्तव्य बन्न सकेको छैन”, पौडेलले भन्नुभयो ।

शाह वंशको इतिहाससँग जोडिएको दरबारको आन्तरिक संरचना संरक्षित सामग्री हेर्ने अवसरबाट सर्वसाधारणलाई बञ्चित गर्न नहुने नागरिक समाजका अगुवा रामबहादुर पौडेल बताउनुहुन्छ । “सर्वसाधरणमा एउटा कौतुहलता हुन्छ राजपरिवार सदस्यले प्रयोग गर्ने सामग्री के कस्ता थिए, उनीहरुको शयन कक्ष, भान्छा कोठा, बैठक कक्ष कस्तो होला भन्ने, यो स्वाभाविक पनि हो । यसलाई हेर्ने प्रबन्ध मिलाउनुपर्छ”, उहाँले भन्नुभयो । आन्तरिक व्यवस्थापन वा अन्य कुनै कारणले अहिले नमिलेको भए पनि वैकल्पिक व्यवस्था अपनाएर भने पर्यटकलाई भित्रकाबारे जानकारी दिनुपर्ने उहाँको भनाइ छ ।

आफूले केही समय पहिला रत्नमन्दिरभित्र अवलोकन गर्दा भान्छा, बैठक, दराजदेखि शयन कक्षलगायतका कतिपय ठाउँहरुमा खाली देख्दा तत्कालीन समयमा यसको रेखदेखको जिम्मेवार प्राप्त पदाधिकारीबाट लापरबाही भएको हो कि भन्ने आशङ्का पनि उत्पन्न गराएको अगुवा रामबहादुरले बताउनुभयो । “रत्नमन्दिर तत्कालीन राजपरिवार बस्ने दरबार हो, यहाँ पक्कै पनि धेरै कुरा हुनुपर्छ तर अहिले भित्र हेर्दा प्राय खाली जस्तो सामान्य शयन कक्ष र केही छुटफुटका सामग्री मात्रै देखिन्छन्, यहाँ सामग्री थिए थिएनन् वा भएका सामग्रीको राम्रो रेखदेख नभएर हराए का पने हुन् कि ?” उहाँले भन्नुभयो । तत्कालिन समयमा के कति सामाग्री थिए त्यो कसले बुझेका थिए अब त्यो बारेमा पनि सोधी खोजी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

रामबहादुरका अनुसार रत्नमन्दिर खोल्न ढिलाइ हुनुमा व्यापारिक प्रयोजनका लागि विभिन्न स्वार्थ समूह सल्बलाइरहेको अवस्थामा नागरिक समाजबाट चर्को विरोधपश्चात् हटेको पनि बताउनुभयो । रत्नमन्दिरलाई एउटा ऐतिहासिक सम्पदाका रुपमा संरक्षण गरेर आन्तरिक र बाह्य पर्यटकलाई न्यूनतमरुपमा एकै शुल्क कायम गरेर सहजै अवलोकन गर्न मिल्ने वातावरण तय गर्नुपर्ने उहाँको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि रत्नमन्दिर अवलोकन गरेर फर्केका पर्यटकबाट भित्र हेर्न नपाएको गुनासो आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयको पहल पछि रत्नमन्दिर खोल्न सफल भयौँ, अब दरबारभित्र के–कस्तो छ भन्ने कुरा पर्यटकले सहज हेर्न पाउनुपर्छ ।” अध्यक्ष श्रेष्ठले दरबारको आन्तरिक संरचना दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग अवलोकन गर्न नमिले पनि बाहिर स्क्रिनबाट डिस्प्ले गर्न ट्रष्टलाई आफूहरुले सुझाव दिएको बताउनुभयो ।

नेपालका ट्रष्टका सञ्चालक समितिका सदस्य याङजोम शेर्पाले सर्वसाधारणबाट आएको गुनासो जायज भएको तर केही संरचनागत प्राविधिक कुराले रत्नमन्दिर भित्र अवलोकनका लागि खुलाउन नसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले उठेको गुनासो स्वाभाविक हो । दरबारभित्रका कोठा, भर्याङदेखि भित्री संरचना साँघुरा छन्, पुरानो संरचना हो, अहिले नै भित्रका लागि खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा निकै चुनौती छ ।” सदस्य शेर्पाले पर्यटकको मागलाई ध्यानमा राखेर वैकल्पिक माध्यमबाट दरबारभित्रका कुरालाई बाहिर देखाउने प्रबन्धका लागि तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले रत्नमन्दिर अवलोन गर्न आउने पर्यटकबाट बाल उद्यान, क्याफेलगायत अन्य संरचना पनि बनाइदिएको भए हुने भन्ने सुझाव पनि आएको बताउनुभयो । सदस्य शेर्पाले भन्नुभयो, “सुझाव धेरै आएका छन् हामीले उपयुक्त र दरबारको मौलिकतालाई असर नपर्ने गरी थप व्यवस्थापनका लागि गृहकार्य गरिरहेका छौँ ।” उहाँले करिब १५ वर्ष पछि रत्नमन्दिर परिसर खोल्न सफल भएको र अब आन्तरिक संरचनागत विषयलाई व्यवस्था गरेर भित्र हेर्न व्यवस्था पनि गरिने बताउनुभयो ।

राजा महेन्द्रले आफ्नी रानी रत्नाका नाममा २०१५ सालमा यो दरबार बनाउनुभएको थियो । दरबारभित्र बैठक कक्ष, राजारानी शयन कक्ष, डाइनिङ हल, बैठक कक्ष शाही नातेदार र सुरक्षा अधिकारीहरूका लागि शयन कक्ष गरी ११ कोठा छन् । एक सय ७४ रोपनी क्षेत्रफलमा रत्न मन्दिर फैलिएको छ । सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ । फेवाताल किनारमा ‘हावा घर’ पनि रहेको छ । राजा वीरेन्द्र र उहाँको परिवारको दरबार हत्याकाण्डमा मृत्यु भएपछि २०६४ मङ्सिर ६ गते यो दरबार नेपाल ट्रस्ट मातहतमा आएको हो ।

रत्नमन्दिर गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते खुला गरिएको रत्नमन्दिर साउन १ गतेसम्म रत्नमन्दिर अवलोकन गर्ने पर्यटक आठ हजार पाँच सय ६४ जना रहेको त्यसमा ५७ जना विदेशी पर्यटक रहेको नेपाल ट्रष्ट इकाइ कार्यालय रत्नमन्दिर पोखराका प्रमुख गीता मिजारले जानकारी दिनुभयो ।

उहाँका अनुसार रत्नमन्दिर घुम्न अहिले भारत र चीनका नागरिकलाई दुई सय शुल्क र भारतबाहेक सार्क राष्ट्रका लागि दुई सय ५० र अन्य देशका नागरिकलाई तीन सय शुल्क तोकिएको छ । त्यसैगरी विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको छ भने अन्य नेपालीलाई एक सय तोकिएको छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्रका, व्यावसायिक भिडियोग्राफीका लागि प्रतिघन्टा रु पाँच हजार शुल्क तोकिएको मिजारले जानकारी दिनुभयो ।
–––