लामो समयदेखि अवरुद्ध भइरहेको संसद्को अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौँ-पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकलमा दाहाल ‘प्रचण्ड’ ले पहलकदमी लिनुपर्ने बताउनुभएको छ । साहित्यकार मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’ प्रा डा सिर्जना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्रा डा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिको लोकार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अवरुद्ध संसद्लाई खुलाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

“लामो समयदेखि संसद् अवरुद्ध भइरहेको छ, प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिइरहनुभएको छ, छिट्टै संसद् सञ्चालन हुने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता चन्दले आफ्नो पार्टीभित्र केही समस्या रहेको भन्दै त्यसको समाधानका लागि पार्टी नेतृत्व लाग्नुपर्ने बताउनुभयो । पार्टी विधि र विधानअनुसार चल्नुपर्ने उहाँको भनाइ थियो ।