सुन तस्करीको नयाँ शैली, स्थलमार्ग र बटुवा प्रयोग

काठमाडौं । काठमाडौं । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ ।

मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा सरकारले कडाइ गरेपछि तस्करले हवाइ मार्ग छाडेर स्थलमार्गबाट तस्करी गर्न थालेका छन् ।

तस्करले चीनबाट नेपालमा सुन भित्र्याउन कुनै मालवाहक गाडीको प्रयोग नगरीकन सामान्य व्यक्तिलाई हिँडाएर सुन तस्करी गराउन थालेका छन् ।

सिन्धुपाल्चोकको गोसाइकुण्ड गाउँपालिका–५, स्याफ्रुबेंसीबाट प्रहरीले पैदलयात्री सुदीप शेर्पालाई बिस्कुट आकारको २ थानमा लुकाइछिपाइ ल्याएको सो धातुसहित फेला पारेपछि तस्करको नयाँ शैली बाहिरिएको हो । प्रहरीले जाँच गर्ने क्रममा टिमुरेबाट स्याफ्रुबेंसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ पोखरी बस्ने २४ वर्षीय सुदीप शेर्पा पक्राउ परेका हुन् ।

शेर्पाबाट २ केजी सुन बरामद गरिएको थियो । उनीसँगै सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ बस्ने फुस्याङबु शेर्पा पनि पक्राउ परेका छन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।