सभापति देउवाद्वारा धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, ६ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु, केही बेपत्ता र केही गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ । साथै उहाँले बेपत्ता भएकाको खोजी कार्यलाई तीव्र पार्न र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न÷गराउन सरकारको ध्यानाकृष्टसमेत गराउनुभएको छ ।