धरानको सामाजिक सद्भाव खलबलले के सन्देश दिन्छ ?

काठमाडौं । धरानमा धार्मिक सद्भाव भड्कने त्रासबिच यतिखेर त्यहाँको स्थानीय प्रशासनले कफ्र्यु (निषेधाज्ञा) आदेश जारी गरेको छ । अहिले झिल्कोका रूपमा देखिएको धार्मिक सद्भाव भोलिको दिनमा अन्य क्षेत्रमा भुसको आगोसरि नसल्केला भन्न सकिन्न ।

सत्तारूढ दल घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा देखिएको द्वन्द्वको विषयलाई लिएर शनिबार एक प्रेस विज्ञप्ति नै जारी गरे । उनले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल पुर्‍याउन नमिल्ने बताएका छन् ।

केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा सभापति देउवाले चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपिल गरेका छन् ।

धरानको विषयलाई अत्यन्त संवेदनशीलरूपमा बुझेका सभापति देउवाले धार्मिक सद्भाव र सामाजिक सद्भाव भड्कदा उत्पन्न हुने परिस्थितिलाई मूल्यांकन गर्दै धर्म, संस्कृतिक पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरूको आस्थामा समेत चोट पुर्‍याउन नपाइने व्यवस्था गरेको स्मरण गराएका छन् ।

देउवाले किन पनि यो भनिरहेका छन् भने भोलि यो खालको सद्भाव भड्कदै गएमा देशमा अशान्तिको रूप लिने र धार्मिकसँगै जातीय र सामाजिक द्वन्द्व हुन सक्ने आँकलन समेत गरेको देखिन्छ ।

धर्म र संस्कृति मान्न पाउने स्वतन्त्रता राज्यका हरेक नागरिकलाई छ । तर, धार्मिक स्वतन्त्रता र संस्कृतिक स्वतन्त्रताको नाममा कसैको धर्म, जात, सम्प्रदायमाथि सद्भाव खलबलने द्वन्द्व निम्त्याउने छुट कसैलाई पनि छैन । आज धरानमा देखिएको द्वन्द्व भोलिका दिनमा जनकपुरमा, गढीमालिकामा, पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म भुसको आगोसरि नफैलिएला भन्न सकिन्न ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।