अभिनेता खगेन्द्र लामिछाने भन्छन् – ‘नेपालमा ओटिटीमा दर्शक छन्’

काठमाडौँ – अभिनेता खगेन्द्र लामिछानेले कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपालमा ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढेको बताउनुभएको छ । ओटिटीमा चलचित्रका साथै नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरूपमा बढेका उहाँले बताउनुभयो ।

“कोरोनाका समयमा विश्वबजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए पनि विदेशी एपमा दर्शक झुम्दा सोही प्रकृतिका नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमा घरलगायतले दर्शक पाएनन्”, लामिछानेले भन्नुभयो । नेपालमा त्यस्ता एपमा पैसा तिरेर प्रयोग गर्नेको सङ्ख्या भारतको तुलनामा दोब्बर रहेको उहाँको भनाइ थियो ।

नेपालमा सन् २०१६ देखि सुरु भएको ‘सिनेमा घर’ लाई छिट्टै प्रतिफल पाउनेभन्दा पनि दीर्घकालीन सोचका साथ सुरु गरिएको लामिछानेले बताउनुभयो । “भारतमा शुल्क तिरेर एपको प्रयोग गर्ने चार प्रतिशत छन् भने हामीकहाँ आठ प्रतिशत छन् । हामीले आउँदो समयलाई सोचेर यसको सुरुआत गरेका हौँ”, उहाँले भन्नुभयो, “सुरुआत गर्दा हामीले सब्सक्रिप्सनको सुविधा हटाएर निःशुल्क हेर्न मिल्ने बनाएका थियौँ । त्यो समयमा इन्टरनेटको पैसा माग्ने पनि हुनुहुन्थ्यो । अहिले युट्युबमा निःशुल्क चलचित्र हेर्ने दर्शकलाई ओटिटीमा केही हदसम्म ल्याउन सफल भएका छौँ ।”

अहिले विश्वले नेपाली चलचित्रलाई हेर्न चाहेको बताउँदै त्यसका लागि पनि ओटिटी आवश्यक रहेकामा अभिनेता लामिछानेले जोड दिनुभयो । “अहिले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा हाम्रा चलचित्र छानिएका छन्, प्रदर्शन हुँदैछन् । हाम्रो कलाकार केही अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुँदैछन्”, उहाँले भन्नुभयो, “हाम्रा कथा विश्वले हेर्न चाहेको यो स्पष्ट सङ्केत हो । ओटिटीले त्यस्ता चलचित्रलाई विश्वभरका दर्शकसम्म पुर्‍याउँछ ।”

नाट्यकर्मीबाट अभिनेता बन्नुभएका अभिनेता लामिछाने अभिनित ‘बधशाला’, ‘टलक जङ्ग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘पानीफोटो’ लगायतका चलचित्र दर्शकमाझ परिचित छन् ।