नेपालले साउदी अरेबियालाई जितका लागि ३ सय ४८ रनको विशाल लक्ष्य दियो

काठमाडौँ, २ कात्तिक ः एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियागिताअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई जितका लागि ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको योगफल बनायो । नेपालका अर्जुन कुमालले सर्वाधिक १ सय ४२ रनको योगदान दिए । उनले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको शतकीय इनिङ खेले । यस रनसँगै अर्जन नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बने ।

यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने कुशल मल्लका नाममा थियो । गत असोजमा चीनमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्धको खेलमा उनले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।

त्यसैगरी आकाश त्रिपाठीले ९० रन बनाए भने दीपक बोहराले २९ रन जोडे । दीपकप्रकाश डुम्रेले १४ रन जोडे । मिलन बोहराले ९ रन बनाए भने दीपेश कँडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुई÷दुई विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एक÷एक विकेट लिए ।