पर्यटन प्रर्वद्धनका लागि ‘बुलेट राइडर’को समूह ढोरपाटनमा

गलकोट, १२ कात्तिक : पर्यटन पर्वद्धनका लागि काठमाडौँबाट ‘बुलेट राइडर’को समूह शनिबार साझा ढोरपाटन आएको छ । नेपालको आन्तरिक पर्यटन प्रर्वद्धन गर्दै आएको उक्त समूहले यसपटक ढोरपाटनलाई रोजेको हो । उनीहरुको यात्रा छ दिन लामो रहेको छ । चालिस बुलेट बाइकमा ४५ जना ढोरपाटन आएको ढोरपाटन नगरपालिकाका उपप्रमख कल्याण कायतले जानकारी दिनुभयोे ।

उहाँले पर्यटकसँग सिधा सम्पर्क गर्न खोजेको बताउँदै ढोरपाटन भ्रमण रोज्नुभएकामा बुलेटराइडरप्रति सामाजिक सञ्जालबाटसमेत आभार व्यक्त गर्नुभएको थियो । उनीहरु दुई दिन पहिले काठमाडौँदेखि हिँडेका थिए । बुलेट बाइकप्रेमीलाई ढोरपाटन ल्याउने योजनाअनुसार ढोरपाटन सिकार आरक्षसम्मको छदिने राइड सञ्चालन भएको हो ।

दसैँ बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने गरी बुलेट बाइक समावेश गरी छ दिने राइड सञ्चालन गरिएको आयोजक बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले जानकारी दिनुभयो । उहाँले शुक्रबारदेखि काठमाडौँबाट सुरु भएको यात्रा पोखरा हुँदै ढोरपाटन पुगेर कात्तिक १५ गते पुनःकाठमाडाँै फर्कने बताउनुभयो ।

“धेरै पर्यटकले मुस्ताङलाई रोजेको पाइयो तर निकै सम्भावना भएरसमेत ओझेलमा परेजस्तो लाग्यो हामीलाई ढोरपाटन”, बुढाथोकीले भन्नुभयो, “यो वर्षको बुलेट राइड योजनामा ढोरपाटन पुग्ने योजनाका साथ आएका छौँ, हाम्रो मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन नै हो ।”

उहाँका अनुसार पहिलो दिन काठमाडौँदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा, पाँचौँ दिन पोखरामा रिफ्रेसमेन्ट र छैटौँ दिन पोखरादेखि काठमाडौँ आई उक्त कार्यक्रम समाप्त हुनेछ । सञ्चालक बुढाथोकीले हरेक वर्ष नेपालका कम्तीमा पनि तीन पर्यटकीय क्षेत्रको बुलेट राइड आयोजना गर्दै आउनुभएको छ । यसभन्दा अघिल्लो पटक भारतको सिक्किम ग्यान्टोसम्म राइड सञ्चालन गरिएको थियो ।