महासचिवको सम्बोधनबाट सकारात्मक सन्देश प्रवाह भएको नेताहरूको ठहर

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनबाट सकारात्मक सन्देश प्रवाह भएको राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिनुभएको छ । संयुक्त बैठकपछि सञ्चारकर्मीसँग उहाँहरूले महासचिव गुटेरेसको सम्बोधन सकारात्मक रहेको बताउनुभएको हो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले महासचिव गुटेरेसले नेपाल भ्रमणका क्रममा महत्त्वपूर्ण पर्यटकीय क्षेत्र सगरमाथा र अन्नपूर्ण आधार क्षेत्र, पोखरा र लुम्बिनीलाई चयन गर्नुले उहाँको नेपालप्रतिको निकटता झल्किएको उल्लेख गर्नुभयो । “महासचिव गुटेरेसको भ्रमणले नेपालीलाई गौरवान्वित तुल्याएको छ, उहाँको भ्रमणबाट हामी अत्यन्तै खुसी छौँ”, अध्यक्ष नेपालले भन्नुभयो, “शान्तिप्रक्रिया टुङ्ग्याउन उहाँका सुझाव महत्त्वपूर्ण छन्, यसमा हामी विश्व समुदायको समर्थनको अपेक्षा गर्छौँ ।”

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महासचिव गुटेरेसको सम्बोधन सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महासचिव गुटेरेसले जलवायु परिर्वतनको असरबाट प्रभावित नेपाललाई सहयोग गर्न विश्व समुदायलाई आह्वान गर्नुभयो, उहाँले आफूले संयुक्त राष्ट्रसङ्घबाट समेत नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।” महासचिव गुटेरेसको नेपाल भ्रमणले विश्वमा नेपालको मान प्रतिष्ठा बढेको नेता कोइरालाको भनाइ छ । सबैलाई न्याय हुने गरी शान्तिप्रक्रिया टुङ्गोमा पु¥याउन महासचिवले सुझाव दिनुभएको उहाँले उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया आफ्नै मौलिकतामा अगाडि बढेको बताउनुभएका महासचिव गुटेरेसको सम्बोधन प्रशंसायोग्य रहेको बताउनुभयो । जलवायु परिर्वतनबाट नेपाललाई परेको असर कम गर्नका लागि विकसित देशले सहयोग गर्नुपर्छ भन्ने महासचिव गुटेरेसको भनाइ महत्त्वपूर्ण रहेको उहाँको प्रतिक्रिया थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समयानुकूल नेपालको अवस्थाबारे महासचिव गुटेरेसले चित्रण गर्नुभएको उल्लेख गदै उहाँप्रति धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष केसीले पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया, जलवायु परिर्वतनले पारेका असर, गरिबी निवारणलगायत विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उहाँले कार्बन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्नेमा जोड दिनुभएको थियो । महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा नेपालले शान्ति सेनामार्फत गरेको योगदानको उच्च प्रशंसासमेत गर्नुभएको थियो । साथै, उहाँले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार यहाँ आइपुग्नुभएको हो । उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनी जानुभएको थियो ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।

राष्ट्रसङ्घका महासचिव एन्टियो गुटेरेसले सङ्घीय संसद्को दुवै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्ने भएपछि संसद् भवन चिटिक्क पारिएको थियो । महासचिव गुटेरेसको स्वागतका लागि सङ्घीय संसद् भवनको मुख्यद्वारदेखि नै नेपालको राष्ट्रिय झण्डा राखिएका थिए । सदनको आजको बैठकमा संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, महान्यायाधिवक्ता, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, प्राध्यापक, पूर्वसांसद तथा सञ्चारकर्मीको उपस्थिति थियो ।–––