विदेशबाट फर्किएर बाख्रापालनमा आबद्ध भएकालाई बोयर बाख्रापालनले बनायो ‘अगुवा कृषक’

बेनी, १७ कात्तिक-वैदेशिक रोजगार त्यागेर बाख्रापालन गर्नुभएका यहाँका एक व्यक्तिको पहिचान फेरिएको छ । विदेशबाट फर्किएर बाख्रापालनमा आबद्ध हुनुभएका बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका उहाँले करिब १२ वर्षको अवधिमा आफ्नो पहिचान ‘अगुवा कृषक’को रुपमा स्थापित गराउनुभएको हो ।

खाडी मुलुकमा गरिएको रोजगारीबाट आर्थिकरुपमा सबल नबनेपछि श्रीस गाउँमै पौरख गर्ने अठोट लिएर खालीहात स्वदेश फर्कनुभएको थियो । गाउँ फर्किएपछि विसं २०६८ मा जग्गा धितो राखी ऋण लिएर व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका उहाँ अहिले स्वरोजगार बन्नाका साथै अन्य व्यक्तिलाई समेत रोजगार बनाउनुभएको छ ।

विगत १२ बर्षदेखि बाख्रापालन गर्दै आउनुभएका श्रीसले बोयर जातको बाख्रापालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म स्थापना गर्नुभएका उहाँले बोयर जातका पाठापाठी उत्पादन गरेर देशका विभिन्न भागमा बिक्री गर्दै आउनुभएको छ ।

श्रीसको फार्मबाट वार्षिक करिब रु २५ लाख बराबरको बोयर बाख्रा बिक्री हुने गरेको छ । केही वर्षअघिसम्म बोयर बाख्राको मूल्य राम्रो पाएपछि अहिले बोयरको उत्पादन बढाइएकामा अहिले भने यसको आकर्षण घटेका कारण आम्दानीमा गिरावट आएको उहाँको गुनसो छ ।

“दुई वर्षअघिसम्म बोयर बोका र पाठीलाई रु दुई लाखसम्म पथ्र्यो, मैले मेरै फार्मबाट वर्षमा रु ६० लाखसम्मको कारोबार गरेको थिएँ तर अहिले मूल्य घटेको छ, एउटैको रु ८० हजार आउन पनि कठिन छ”, श्रीस भन्नुहुन्छ । बाख्रापालनबाटै नमूना कृषकको रुपमा पहिचान बनाउनुभएका उहाँले बाख्रापालनबाट भएको आम्दानीलाई फार्मको पूर्वाधार निर्माणमा लगानी गर्दै आउनुभएको छ ।

हाल उहाँको फार्ममा करिब रु दुई करोड लगानी भइसकेको छ । छिटो–छिटो हुर्कने बोयर जातका बाख्रापालन गर्दै आउनुभएको श्रीसको फार्ममा अहिले ३५ वटा बाख्रा छन् । तीमध्ये पाठा जन्माउने १५ वटा माउ बाख्रा छन् । अन्य साना पाठापाठी छन् । अहिले नश्ल सुधारका दुईवटा बोका फार्ममा रहेको उहाँ बताउनुहुन्छ ।

बाख्राको घाँसका लागि ६० रोपनी जग्गामा घाँस खेती गर्नुभएका श्रीसले तीन जनालाई नियमित रोजगार दिनुभएको छ । व्यवस्थितरुपमा दुईवटा खोर बनाएर बोयर बाख्रापालनको स्रोत केन्द्र नै स्थापना गर्नुभएका उहाँको फार्म अवलोकन गर्न विभिन्न जिल्लाबाट कृषक आउने गरेका छन् ।