प्रधानमन्त्री दाहाल जाजरकोटमा

जाजरकोट, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुग्नुभएको छ । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान साढे आठ बजे स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित यहाँ आउनुभएको हो ।

जाजरकोट पुग्नुभएका प्रधानमन्त्री दाहालले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पको क्षतिको जानकारी लिनुभएको छ । सुरुमा जाजरकोटको खलङ्गाको प्रभावित क्षेत्रको वस्तुस्थिति बुझिसकेपछि प्रधानमन्त्री दाहाल प्रजिअ सुनारसहित सबैभन्दा बढी क्षति भएको नलगाड नगरपालिकामा पुग्नुभएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारलाई तीव्र बनाउन तथा यसका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । क्षतिको पूर्ण विवरण नआइसकेकोले प्रारम्भिक क्षतिको विवरणबारे प्रजिअले प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गर्नुभएको छ । उहाँका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वगृहमन्त्री जनार्दन शर्मासहित यहाँ आइपुग्नुभएको छ ।