सहायता परिचालनमा जुट्न एमालेको निर्देशन

काठमाडौँ- नेकपा (एमाले)ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा उद्धार र राहतमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।एमालेले भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत जिल्ला र त्यस क्षेत्रका विभिन्न भागमा ठूलो मानवीय तथा भौतिक क्षति भएकामा दुःख व्यक्त गर्दै आफ्ना कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन दिएको हो ।
एमालले भूकम्प पीडितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोवासको व्यवस्था गर्न, पीडितलाई सहयोग गर्न तथा घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका अस्पताललाई द्रुत सेवा प्रवाह गर्नेतर्फ सधैँ सचेत रहन निर्देशन दिएको छ । जाजरकोट भूकम्पबाट घाइते भएकाको तत्काल उपचारको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनवहादुर बस्नेतको अध्यक्षतामा आज भएको आकस्मिक बैठकले काठमाडौँमा उपत्यकाका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामति कर्मचारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।