‘समाजवाद उन्मुख नेपालका लागि सहकारी अभियान महत्त्वपूर्ण’ – सभामुख घिमिरे

बनियानी (झापा) – सभामुख देवराज घिमिरेले समाजवाद उन्मुख नेपालका लागि सहकारी अभियान महत्त्वपूर्ण हुने बताउनुभएको छ ।झापाको बिर्तामोडमा आज सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको शनिवार २७औँ साधारणसभामा सभामुख घिमिरेले मुलुकलाई समाजवादतर्फको यात्रामा अघि बढाउन सहकारी अभियान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

सहकारीले सदस्यको हितमा जन्मदेखि मृत्युपर्यन्त काम गरिरहेको बताउँदै सभामुख घिमिरेले सहकारी संस्था स्वनियमनमा चल्ने ‘मिनी स्टेट’ भएको उल्लेख गर्नुभयो ।

संस्थाले कार्यक्रममा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ग र पत्रकार सन्तोष न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रधानाङ्गलाई रु एक लाख एक हजार राशिको राष्ट्रिय व्यक्तित्व पुरस्कार र न्यौपानेलाई रु २५ हजारको सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।