भूकम्पपीडितलाई सरकारले सघाउने: गृहमन्त्री श्रेष्ठ

जाजरकोट, १९ कात्तिक : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पपीडितलाई सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । पीडित परिवारलाई राहत सामग्रीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

जाजरकोट सदरमुकाममा सरोकारवाला निकायसँग भूकम्प प्रभावित क्षेत्रमा सरकारले गरेका कामका बारेमा जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले पीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले आज मन्त्रिपरिषद्को बैठक, विपद् व्यवस्थापन परिषद्को बैठक बसेर सबै ठाउँका अस्पताललाई भूकम्पपीडितको अविलम्ब उपचारको व्यवस्था गर्न निर्देशन दिइएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले पूर्णरुपमा भत्किएका र आंशिक रुपमा भत्किएका घरको मूल्याङ्कन, क्षतिका आधारमा राहतको व्यवस्था, तत्काल उपलब्ध गराउनुपर्ने त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले रेडक्रसलगायत मानवीय सहायता निकायलाई सहयोग परिचालन गर्न आग्रह पनि गर्नुभयो ।