दोस्रोपटकको भूकम्पले आठबीसकोटमा चारजना घाइते, स्थानीय झन् त्रसित हुँदै

त्रिवेणी (रुकुम पश्चिम)- पुनः भूकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा नगरपालिकाका चारजना घाइते भएका हुन् ।

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रबि केसीले जानकारी दिनुभयो । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गर्नुभएको छ ।जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् ।