कालीकोटमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

कालीकोट । कालीकोटमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले तिहारका लागि सूचना निकाल्दै ९ बजेसम्म मात्र देउसी भैलो खेल्न भनेको हो ।

‘चाडपर्व मनाउने क्रममा कसैको इच्छा चाहना विरुद्धका क्रियाकलाप तथा समाजमा अशोभनीय कार्य नगरी शान्ति सुरक्षा एवम् अमन चयनको अवस्था कायम गरी राख्न सूचना जारी गरिएको हो,’ सूचनामा भनिएको छ ।

सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू बेलुका ९ बजे सम्म मात्र सञ्चालन गर्न भनिएको छ । यस्तै, पटका, आतिसबाजी जस्ता विस्फोटक पदार्थहरूको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न निर्देशन दिइएको छ ।

मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवम् सर्वसाधारणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने र झै – झगडा गर्नेलाई कारबाही हुने प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।