भूकम्पपीडितलाई सघाउन उपाध्यक्ष राजेन्द्र पाण्डेको आह्वान

काठमाडौँ, २५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले भूकम्पपीडितलाई सघाउन आह्वान गर्नुभएको छ ।

गोरखा–काठमाडौँ सम्पर्क मञ्चले भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले आज आयोजना गरेको देउसीभैलो कार्यक्रममा उपाध्यक्ष पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहुनेतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले भूकम्पलगायत सम्भावित विपद् तथा प्रकोप व्यवस्थापनका लागि सरकार सधैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेता पाण्डेले प्रभावितले चिसोको समयमा खुला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाको स्वास्थ्यमा आउने समस्या निराकरण गर्न सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।

पोलिटब्यूरो सदस्य दिलु पन्तले आपूर्ति कम भएकाले पीडितले राहत सामग्री नपाएका भन्दै त्यसलाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।