भूकम्पले रुकुम पश्चिमका १० प्रहरी कार्यालयमा क्षति,पालबाट सेवा

रुकुम-भूकम्पले रुकुम पश्चिमका १० प्रहरी कार्यालयमा क्षति पुर्‍याएको छ । क्षति भएका कार्यालयमध्ये पाँच वटा पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बताउनुभयो । बाँकी पाँच वटामा आंशिक क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयको भवन पनि चर्किएकाले बस्न मिल्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।प्रहरी चौकी पुर्तिमकाँडाको भवन, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र इलाका प्रहरी कार्यालय आठबिसकोटको भवन पूर्ण रूपले क्षति भएको छ । प्रहरीका अनुसार सिम्लि प्रहरी चौकी अहिले अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट प्रहरी पालबाट सेवा दिइरहेको छ ।

बाँकी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र इलाका प्रहरी चौकी चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।