सवारीसाधनमा छुटेका ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

काठमाडौँ, ४ मङ्सिर : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका रु ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा सामान हराएको भन्दै निवेदन दिएका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार निवेदनका आधारमा ९९ जनाको धनमाल खोजी गरी सम्बन्धितलाई बुझाइएको छ । आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन अनुरोध गर्नुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले सवारी साधनमा छुटेको धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ । पछिल्लो पटक भने हिजो मात्रै काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको थियो ।

जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा२ज ३४५३ नम्बरको ट्याक्सीमा करिब सात तोला बराबरको सुन र चार तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी सङ्गीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्नुभएको थियो । प्राप्त खबर तथा लिखित निवेदनको आधारमा ट्राफिक प्रहरीले सिसीटिभी क्यामेराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयं सुनका गहना बुझाउन ट्राफिक प्रहरी वृत्त गौशालामा पुग्नुभयो । त्यसपछि प्रहरीले उक्त सामान धनीलाई बुझाएको थियो ।