प्रधानमन्त्रीसँग कुरा नमिलेपछि राजीनामाः नेता गजुरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गर्न असमर्थ भएपछि राजीनामा दिएको बताएका छन् ।
बीबीसी नेपालीसँग कुरा गर्दै गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिलेपछि राजीनामा दिएको बताएका हुन् । उनले आफ्नो कुरा प्रधानमन्त्रीबाट नसुनिएपछि राजीनामा दिएको बताए ।उनले भने, ‘सल्लाहकारको रूपमा मेरो कुरा सुन्नैपर्ने बनाएको थिएँ, नसुनिएपछि अलग भएँ ।

खास एउटा मोड आयो त्यो कुरामा हामी एक ठाउँमा भएनौँ। अनि म त्यो भूमिकाबाट अलग भएँ।’उनले आफूले प्रधानमन्त्रीसँग उठाएको ‘नीतिगत’ विषय राजीनामा पत्रमा पनि उल्लेख गरेको जानकारी दिए। त्यो कुरा राजीनामा स्वीकृत भइसकेपछि खुलाउने उनको भनाइ छ । प्रधानमन्त्रीले गतवर्ष माघ ९ गते गजुरेललाई आफ्नो मुख्य राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए । गजुरेलले मङ्सिर २० गते राजीनामा दिएका हुन् ।