भारतद्वारा उदयपुरमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौँ, २८ मङ्सिर : भारत सरकारको सहयोगमा उदयपुरको बेलका नगरपालिकास्थित जनता बेलका माध्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री डा नारायण खड्का र यहाँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रशन्न श्रीवास्तवले सो भवनको बुधबार शिलान्यास गर्नुभयो । नेपाल-भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको रु तीन करोड ७९ लाख आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो ।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग आवश्यक कक्षा कोठा र अन्य पूर्वाधार संरचनासहितको तीन तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिने दूताबासले जनाएको छ ।

भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ । बेलका नगरपालिकामार्फत यो परियोजनाको कार्यान्वयन गरिनेछ ।

कार्यक्रममा डा खड्काले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । भारतीय राजदूतावास, काठमाडौंका नियोग उप-प्रमुख श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।

साथै उहाँले नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनले गत महिना सफलतापूर्वक २० वर्ष पूरा गरेको पनि बताउनुभयो । यस विद्यालयको भवन निर्माण सम्पन्न भएपछि नयाँ विद्यालय भवनले जनता बेलका माध्यमिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नुका साथै यस क्षेत्रमा शिक्षाको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।