भेरी बबई डाइभर्सन आयोजनाको काममा गति दिन मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, ३ पुस : राष्ट्रिय गौरवको सूचीमा रहेको भए पनि भेरी बबई आयोजनाको कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल कामलाई गति दिन निर्देशन दिनुभएको छ ।

“आयोजनाको काममा ढिलाइ गर्ने छुट कोही कसैलाई पनि छैन ” मन्त्री बस्नेतले भन्नुभयो । सिंहदरबारस्थित आज ऊर्जा मन्त्रालयमा सिँचाइतर्फबाट उच्च अधिकारी, आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई अब ढिलाइ सह््य नहुने जनाउँदै तत्काल काममा गति दिन निर्देशन दिनुभएको हो ।

सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँधस्थल र विद्युत् गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।आयोजना सम्वद्ध अधिकारी आयोजनास्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमा समेत समस्या पैदा भएको छ ।

आयोजनाको प्रगतिको अवस्थाका बारेमा ऊर्जामन्त्री बस्नेतले नियमित रुपमा जानकारी लिँदै आउनुभएको छ । नेकपा(एमाले)को मध्यपहाडी राजमार्ग केन्द्रीत अभियानका क्रममा सो पार्टी सम्वद्ध शीर्ष नेतालेसमेत स्थलगत निरीक्षण गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि नै प्रधानमन्त्री कार्यालय मातहतका रहेको एक्सन रुममार्फत अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । कामले अपेक्षित गति नलिएपछि आज मन्त्री बस्नेतले अब पनि अपेक्षित प्रगति नभए सहन नसकिने भन्दै आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई चेतावनी दिनुभयो । छलफलमासमेत निर्माण व्यवसाय िरहनुभएका रमण कन्स्ट्रक्सनका प्रमुख रमणकुमार महत्तोले आयोजनाका अधिकारीले समयमा भुक्तानी नगरिदिएको तथा अन्य अत्यावश्यक काम नगरिदिएका कारण आयोजनास्थलमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो ।

आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको भन्दै गुनासो गर्नुभयो । एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाइ गरेको भन्दै मन्त्री बस्नेतले भन्नुभयो“एकले अर्कोलाई दोष देखाएर राष्ट्रिय गौरवको आयोजनामा समस्या सिर्जना गर्ने काम नगर्नुस । समस्या के हो ? समाधानको उपाय के हो ? त्यो प्रस्तुत गर्नुस् । ”

उहाँले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभागले र हरेक महिनामा मन्त्रालयकातर्फबाट आयोजनाको निरीक्षण गर्ने बताउनुभयो ।आयोजना निर्देशक बमले दैनिक रुपमा दुई सय ६० घनमिटरका दरमा ढलान तथा कङ्क्रिटको काम हुनुपर्ने बताउनुभयो । उहाँले आयोजनालाई दैनिक तीन वटा शत्रमा काम गर्ने वातावरण मिलाइने विश्वास दिलाउनुभयो ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले राज्यको साधन र स्रोत लगानी भएको आयोजनामा कुनै पनि ढिलाइ नगर्न सम्वद्ध पक्षलाई निर्देशन दिनुभयो । छलफलमा सिँचाइतर्फका सहसचिव सुशीलचन्द्र आचार्य, मोहन शाक्य, सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओली, उपमहानिर्देशक सञ्जीव बराल र दिनेश रजौरियालगायतको उपस्थिति थियो ।