बजारमा माग कम हुँदा बाहिरी मुलुकबाट हुने आयातमा कमी, साढे छ खर्ब नजिक

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा आयात घटेको छ । बजारमा माग कम हुुँदा बाहिरी मुलुकबाट हुने आयातमा कमी आएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात ३.३९ प्रतिशतले घटेर छ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ लाख रुपियाँमा झरेको छ ।

गत वर्ष सो अवधिमा छ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपियाँको आयात भएको थियो । पाँच महिनाको अवधिमा निर्यात ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपियाँको निर्यात भएको थियो । पाँच महिनामा वैदेशिक व्यापार घाटा ३.०९ प्रतिशतले घटेर पाँच खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपियाँ पुुगेको छ ।

गत वर्ष सो अवधिमा व्यापार घाटा पाँच खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपियाँ थियो । पाँच महिनामा कुल वैदेशिक व्यापार ३.६४ प्रतिशतले घटेर सात खर्ब पाँच अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपियाँमा पुुगेको छ । अघिल्लो वर्ष मुलुक वैदेशिक व्यापार सात खर्ब ३२ अर्ब ५० करोड ९५ लाख रुपियाँ रहेको थियो ।

पाँच महिनामा भएको आयातबाट एक खर्ब ७० अर्ब ९८ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । फलाम तथा स्टिलको आयातसमेत केही खुम्चिएको छ । कच्चा भटमासको तेल र औषधी आयातसमेत घटेको छ ।

यस वर्ष तयारी पोसाक र अन्नको आयात भने बढेको तथ्याङ्कले देखाएको छ । पाँच महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात एक खर्ब २८ अर्ब रुपियाँको भएको छ । यस्तै ५२ अर्ब ४४ करोड रुपियाँको आइरन र स्टिल आयात भएको छ । यस्तै विद्युतीय सामग्रीको आयात ४५ अर्ब २४ करोडको रहेको छ । सवारी साधन र यसका पार्टपुर्जाको आयात २९ अर्ब २० करोड रुपियाँँको रहेको छ । यो समाचार गोखापत्र दैनिकमा छ ।