राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँट गर्न आज पनि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले पनि सिट मागेपछि सत्ता गठबन्धन दल एमालेलाई समेत साथै लिएर अघि बढ्न तयार भएका छन् ।
बुधबार बसेको बैठकमा नीतिगत समझदारी भएपनि सिट संख्यामा टुंगो नलागेपछि आज फेरि छलफल गर्ने गरी बुधबारको बैठक सकिएको थियो ।

एमालेलाई कति सिट दिने भन्ने विषयमा गठबन्धनमा प्रश्न उठेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसबारे एमाले र गठबन्धन दुवैसँग पटक पटक छलफल गरेर समझदारी बनाएपनि सिट संख्याबारे सहमति भएको छैन ।

बुधबार साँझ बसेको गठबन्धनको बैठकमा नेताहरूले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस् प्रस्ताव के हो भनेर सोधेका थिए । बैठकमा प्रधानमन्त्री दाहालले त्यसबारे थप छलफल गर्नुपर्ने बताएपछि बैठकले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस प्रस्ताव लिएर आउन आग्रह गरेको थियो ।

आज विहान दाहालले एमाले नेताहरूसँग छलफल गर्ने र त्यसपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच हुने नेताहरूले बताएका छन् ।
११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि आगामी सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।