गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासोः बजेट सुनिश्चितता गर्ने आश्वासन

चितवन, २३ माघ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघिबढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रङ्गशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिएका छन् ।

रङ्गशाला निर्माणस्थल अवलोकनपछि अर्थमन्त्री लामाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने उनले बताए ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई पनि उनले रङ्गशालामा बजेट पार्ने विश्वास दिलाए । देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले भने, “रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौँ । ढुक्क हुनुस् ।”

महानगर उपप्रमुख चित्रसेन अधिकारीले रङ्गशाला निर्माणमा प्राप्त आश्वासनले आशा जगाएको बताए । मन्त्री लामासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, माया श्रेष्ठ, भरतपुर महानगरपालिका– १५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटा रङ्गशाला निर्माणस्थल पुगेका थिए ।