सुशासनका लागि अख्तियारले चालेको कदममा सरकारले कुनै हस्तक्षेप गर्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देशको आर्थिक संमृद्धि र विकास नहुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार, सरकार, राजनीतिक दल, नागरिक समाजसहित सबैको भूमिका हुनुपर्ने बताए ।

उनले भ्रष्टाचारजन्य घटना छानविन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहेको बताए । उनले भने,‘भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ । भ्रष्टाचारविरुद्ध निर्ममतापूर्ण ढंगले कारबाही गर्नैपर्ने हुन्छ । भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन ।’

उनले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घटनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । प्रधानमन्त्रीले भने,‘माथिल्लो तहदेखि तल्लो तहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जो कोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ । जो सुकै व्यक्ति भ्रष्टाचारको कसूरमा समातिन्छ भने उसलाई कारबाही हुनुपर्छ । यसमा सरकारले कुनै हस्तक्षेप गर्दैन ।’

Post Views: 1