पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व – वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व रहेको बताउनुभएको छ । ललितपुर च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा शनिवार एमाले पेशागत विशेष जिल्ला कमटीको नवौँ अधिवेशनको उद्घाटनमा उहाँले मुलुकमा राजनीतिक परिवर्तन भए पनि राजनीतिक स्थायित्व हुन नसकेको भन्दै पार्टीको अबको एजेण्डा राजनीतिक स्थायित्वका साथै आर्थिक विकास र समृद्धि हुने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि एमालेले एकल बहुमत प्राप्त गरी सरकार गठन गर्नुपर्ने र त्यसकै लागि पार्टीले मिसन–२०८४ अघि सारेको बताउनुभयो । उहाँले एमालेले प्राप्त गरेको उचाइ गौरव गर्न सकिने रहेको र त्यस उचाइसँगै चुनौती पनि थपिएको उल्लेख गर्नुभयो । उहाँले ती चुनौतीको सामना गरेर अगाडि बढ्ने सामथ्र्य एमालेमा रहेको बताउनुभयो । उहाँले पार्टी राष्ट्रिय शक्तिलाई गोलबन्द गरेर राष्ट्रिय शक्तिको केन्द्र बन्ने बताउनुभयो ।

जनतालाई सेवा प्रवाह, रोजगारी, स्वरोजगारी र सीप सिकाउने कुरा एमालेका मुद्दा भएको भन्दै उहाँले सेवा प्रवाह गर्ने कुरामा पेसागत क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने हुँदा एमाले सम्बद्ध सबैले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्नेामा उहाँको जोड थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रभावकारी सेवा प्रवाहबाट मात्र जनतामा सिर्जना भइरहेको निराशा रोकेर आशामा बदल्न सकिने बताउनुभयो । पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन मध्यपहाडी लोकमार्गमा ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ नाराका साथ समृद्धि यात्रा सम्पन्न गरिएको स्पष्ट गर्दै पार्टी सङ्गठन, कमिटीका जनसम्बन्ध विस्तारका योजना हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले विशेष जिल्ला कमिटीको भूमिका भूगोलका कमिटीको जस्तो नभई विशेष नै रहेको बताउँदै भौगोलिक क्षेत्रको राजनीतिक प्रतिस्पर्धामा विजय प्राप्त गर्न भूगोलका कमिटीको पूरकका रूपमा भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।

पार्टी कमिटीलाई चुस्तदुरुस्त बनाउनु आवश्यक रहेको र नेता, कार्यकर्ताको आचरण र व्यवहारमा प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई बलियो शक्ति बनाउन शुद्धीकरण तथा सुदृढीकरण अभियान चलाउनेसमेत बताउनुभयो । सो क्रममा जिल्ला कमिटीद्वारा प्रकाशित मुखपत्र हाम्रो बाटो लोकार्पण गर्नुभएको थियो ।

एमालेका पोलिटब्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश इन्चार्ज सुजिता शाक्यले पेसा व्यवसायमा रहेको जनशक्ति राष्ट्र निर्माणका लागि ऊर्जा भर्ने शक्ति भएको बताएको बताउनुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।