समाजवादी मोर्चाको बैठक आज

काठमाडौँ – समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न आज बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बैठक बोलाइएको हो ।

बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन् । मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको छ ।