युक्रेनद्वारा पूर्वी शहर अवडिभकाबाट सेना फिर्ता गर्न आदेश

युक्रेनले अग्रपंक्तिमा रहेको पूर्वी शहर अवडिभकाबाट सेना फिर्ता गर्न आदेश दिएको छ । युक्रेनी सशस्त्र बलका कमाण्डर–इन–चीफ ओलेक्सान्डर सिर्स्कीले घेराबाट बच्न र सेवाकर्मीहरूको जीवन र स्वास्थ्यको रक्षा गर्न शहरबाट सैनिक फिर्ता गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

उनले युक्रेनका लागि सैनिकको जीवन सबैभन्दा महत्वपूर्ण रहेकोमा जोड दिएका छन् । युक्रेनी सेनाले जटिल सुरक्षा स्थितिलाई स्थिर बनाउन विभिन्न उपायहरू गरिरहेको पनि सिर्स्कीले उल्लेख गरेका छन् ।

यसै हप्ताको शुरुमा स्थानीय सञ्चार माध्यमले रूसी सेनाहरूले युक्रेनी सेनासँग भीषण लडाइँ पछि डोनेट्स्क क्षेत्रको औद्योगिक शहर अवडिभकामा पकड बलियो बनाएको जनाएका थिए ।